Logo

अध्यक्ष लिङ्देनले भने: राप्रपालाई सरकारमा जान हतार छैन



काठमाडौँ, ४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् ।

सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् ।

उनले आफूहरूले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आउँदा दिनमा के गर्दा आफ्नो मान्यताहरू स्थापित हुन्छन् त्यही गर्ने बताए । आफूहरू मन्त्री खानका लागि कसैको घर नधाउने उनको भनाइ छ ।

अध्यक्ष लिङ्देनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए । उनले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गरेका छन् ।

उनले भने, ‘सरकार निर्माणको प्रक्रिया सुरु भएको छ । हामी बैठक बसेर आधिकारिक धारणा पनि बनाउँछौँ । नेतृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि भन्ने चिन्ता लिनुपर्दैन । अहिले न हामीलाई सरकारमा जान हतारो छ, न सरकारमा नजाने भनेर कसम खाएका छौँ । हामी मन्त्री खानका लागि कसैको घर धाउँदैनौँ । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ ।’

अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा सुरु भएको बताए । उनले आउँदा दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने उल्लेख गरे । पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणामबाट आफू सन्तुष्ट नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्