काठमाडौँ, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताएका छन् ।
बिहीबार राम नवमीको अवसरमा काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु बढेको बताएका हुन् ।
उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे । उनले देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको बताए ।
अध्यक्ष लिङ्देनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे। उनले सरकार सांस्कृतिक सम्पदाहरुको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी दिए ।







