काठमाडौँ, २६ मंसिर । सरकारले अहिलेको आवश्यकतालाई हेरेर फौजदारी कानुन संशोधन गर्ने अध्यादेश ल्याइएको स्पष्टीकरण दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो स्पष्टीकरण दिएका हुन् ।
उनले मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनसायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मुल धारमा ल्याउने उद्देश्यका साथ अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको बताए ।
उनले यस किसिमका अध्यादेश योभन्दा अघिका सरकारले पनि जारी गरेको बताए ।
मन्त्री कार्कीले मुलुकलाई अहिले शान्ति चाहिएकाले सबैको सहयोग र योगदान रहोस् भन्ने उद्देश्यले अध्यादेश ल्याइएको दाबी गरे । आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्न सिफारिस गरेको छ ।







