Logo

अनधिकृत बस्ती हटाउन महानगरलाई नेवार समुदायको समर्थन



काठमाडौँ, ९ पुस । काठमाडौँका नेवार समुदायले अनधिकृत बस्ती हटाउने काठमाडौँ महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ ।

सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने मागसमेत नेवार समुदायको छ ।

आज नेवार समुदायका विभिन्न १५ सङ्घ, समाज र समिति तथा गुठीले संयुक्तरुपमा पत्रकार सम्मलेन गर्दै बागमती नदी किनारास्थित अनधिकृत बस्तीले काठमाडौँको सांस्कृतिक पहिचानमाथि चुनौती थपेको बताएका हुन् ।

अनधिकृत बस्ती हटाउन महानगरलाई आफूहरुको समर्थन भए पनि बस्तीका बासिन्दालाई पर्ने असुविधालाई नजर अन्दाज गर्न नहुने उनीहरुको भनाइ छ ।

“काठमाडौँ महानगरको अभियानलाई हाम्रो समर्थन छ, तर अनधिकृत बस्तीमाथि पर्न जाने असुविधालाई पनि नजर अन्दाज गर्न सकिँदैन, उहाँहरुलाई राज्यले थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था गरिदिनुपर्छ”, नेवाःजातीय महासङ्घका अध्यक्ष मनोज नेवा: खड्गीले भने ।

उनले कुनै पनि नागरिकप्रति आफूहरुको वैरभाव नभएको बताए । आफूहरुको सरोकार काठमाडौँको मौलिक पहिचानको संरक्षणका लागि मात्र भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्