Logo

अनधिकृत संरचना भत्काउने अभियानलाई महानगरले निरन्तरता दिने



काठमाडौँ, ९ भदौ । काठमाडौँ महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काउने अभियानलाई निरन्तरता दिने भएको छ ।

महानगरपालिकाले आज काठमाडौँको कोटेश्वरमा सडक अतिक्रमण गरेर सञ्चालन गरिएका पसलहरू हटाउने तयारी गरेको छ ।

कोटेश्वरमा बुधबार पुगेको महानगरको टोलीले सम्झाइ बुझाइ गरेर आजदेखि हटाउने जानकारी गराएको छ । गएको सोमवार बानेश्वरमा केही संरचना भत्काएको महानगरपालिकाले हिजो न्युरोड तथा दरबारमार्ग क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको थियो ।

महानगरका मेयर बालेन्द्र शाहसहितको टोलीले बुधबार न्युरोडको काठमाडौँ मल, आर बी कम्प्लेक्सलगायतमा बनेका अनधिकृत संरचना हटाएको थियो । यसअघि नै ३५ दिने सूचना निकालेको महानगरले अटेरी गरेपछि भत्काउने अभियान थालेको हो ।

महानगरपालिकाले ३५ दिने सूचना निकालिसकेको र जुनसुकै बेला अनधिकृत संरचनाहरू हटाउन सक्ने भन्दै नियम पालना गर्न सबैलाई आग्रह पनि गरेको छ । महानगरले डोजर लगाएर संरचना भत्काएपछि भाडामा पसल राखेका व्यापारीहरुले आफूहरुमाथि अन्याय भएको गुनासो गरेका छन् ।

मेयर शाहले भने महानगरले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु नगरेको र क्षतिपूर्ति सम्बन्धित धनीबाटै लिनुपर्ने बताएका हुन् । आफूहरुले यसअघि बोलाएको छलफल र सरसल्लाहमा कोही पनि सम्पर्कमा नआएको पनि उनको भनाइ छ । अबका दिनमा अनधिकृत संरचनाहरु नबनाउन र बनाएका त्यस्ता संरचनाहरु आफैँले भत्काउन पनि उनको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्