झापा, २२ वैशाख । अनलाइन पत्रकारिता सम्बन्धी दुई दिने प्रशिक्षण बुधवार झापाको पाडाजुंगीमा सम्पन्न भएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले ‘पत्रकारिताको बदलिँदो आयामः अनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयमा प्रशिक्षणको आयोजना गरेको हो ।
गौरादह नगरपालिकाको सहयोगमा भएको तालिमको सहजीकरण नेपाल खबर डटकमका सम्पादक अरुण बरालले गरेका थिए ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षण समापन समारोहका प्रमुख अतिथि महासंघ प्रदेश १का कोषाध्यक्ष विमल लामिछाने रहेका थिए ।
उक्त अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि लामिछानेले स्वतन्त्र र निष्पक्ष ढंगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न पत्रकार र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने भन्दै सोही अनुसार दायित्व बोध गर्न पत्रकारहरुलाई अग्रह गरेका छन् ।
प्रशिक्षण समापनमा महासंघ प्रदेश १का कार्यसमिति सदस्य विष्णु सुब्बा, सहभागीहरुको तर्फबाट उमानाथ भण्डारी, सेलिङ केसी, शान्ति सुब्बाले मन्तव्य राखेका थिए । प्रशिक्षणमा सहभागी सञ्चारकर्मीले आवश्यक प्रशिक्षण तथा महासंघको भूमिका लगायतका विषयमा विभिन्न सुझाव राखेका थिए ।
महासंघका जिल्ला उपाध्यक्ष केशव भट्टराईले मन्तव्यबाट स्वागतको गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।