Logo

अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्नु हुँदैन ः नेता पोखरेल



झापा, ३० मङ्सिर । नेकपा (माओवादी केन्द्र)का सचिव लीलामणि पोखरेलले अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्न नहुने बताएका छन् ।

मेचीनगरमा शुक्रवार आयोजित महेन्द्रद्वार सहकारी संस्थाको वार्षिक साधारणसभामा सचिव पोखरेलले मुलुकमा लाखौँको सङ्ख्यामा गरिखाने नागरिक सहकारीमा जोडिएका र त्यसबाट सङ्कलन भएको ठूलो पूँजी अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुनेमा जोड दिए । उनले भने, “घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्नु हुँदैन । हिजो जसले अनुत्पादक क्षेत्रमा लगानी गरे, ती सहकारी अहिले सङ्कटमा छन् ।”

सरकारले उत्पादनमूलक उद्योगमा लगानी गर्न चाहने सहकारीलाई अनुमति दिन आनाकानी गर्न नहुने उनको सुझाव थियो । उनले सहकारीलाई बलियो बनाउन ३८ वटा कानुन निर्माण गर्न आवश्यक भएको बताए ।

झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालले बैङ्क तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाउँदा उत्पादनशील क्षेत्रमा लगानी गरिनुपर्ने रकम बैङ्कहरूमा थुप्रिँदा सङ्कट उत्पन्न भएको वास्तविकता सुनाए ।

नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बिपी भट्टराईले सहकारी संस्थाहरूलाई बैङ्क र अरू वित्तीय संस्थालाई झैँ व्यवहार गर्न नहुने विचार व्यक्त गरे ।

सहकारी अभियन्ता भानु दङ्गालले सहकारीबाट ऋण लिएर नतिर्नेहरूलाई कालो सूचीमा राख्ने र कर्जा सूचना केन्द्रमा नाम समावेश गर्ने कानुनी व्यवस्थाको खाँचो औँल्याए ।

संस्थाका अध्यक्ष राजकुमार दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा, खेलकुद, उत्कृष्ट बचत र ऋणीलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष युद्वराज ओलीले स्वागत गरेको कार्यक्रम लेखा प्रतिवेदन संयोजक रमेश दाहालले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानीय संघ संस्था, राजनीतिक दल र संस्थाका शेयर सदस्यहरूको उपस्थित रहेको थियो । वार्षिक प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गरेका थिए भने सञ्चालन प्रकाश ढुङ्गानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्