Logo

अनुशासन र देशप्रेमको भावनाबाटै भावी पुस्ता सबल: प्रधानसेनापति शर्मा



गण्डकी, १५ मङ्सिर । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अनुशासन र देशप्रेमको भावनाबाटै भावी पुस्ता सबल बन्नेमा जोड दिएका छन् ।

सैनिक आवासीय महाविद्याल, पोखराको १९औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले भविष्यका कर्णधार विद्यार्थीलाई भविष्यको सोच, शिक्षाको महत्व, अनुशासन र देशप्रेमको भावना विकास गर्न सकेमा मात्रै भावी पुस्ता थप सबल बन्ने बताएका हुन् ।

शिक्षा पेशा आफैँमा गौरवपूर्ण र प्रतिष्ठित पेशा भएको बताउँदै उनले पछिल्ला समयमा यसलाई हेप्न थालिएको बताए । शिक्षाको महत्व विस्तारै बढ्दै गएको उल्लेख गर्दै प्रधानसेनापति शर्माले यस पेशालाई उदाहरणीय बनाउनुपर्नेमा जोड दिए ।

महाविद्यालयमा व्यवस्थापनतर्फ विविएको कक्षा पनि सञ्चालन गर्न लागिएको बताउँदै उनले यसबाट लाभान्वित बन्न आग्रह गर्दै स्नातक तहमा विभिन्न कक्षा सञ्चालन गर्न यो सुरुवात भएको र भविष्यमा अन्य विषयमा पनि पठनपाठन सुरु गरिने जानकारी गराएका हुन् ।

घरपरिवारबाटै उचित शिक्षा, दिक्षा र संस्कारको विकास भई विद्यालय, महाविद्यालयमा अध्ययन गरे पश्चात समाज र राष्ट्रको सेवा गर्ने व्यक्तित्वका रुपमा विकास गर्न सकिने धारणा प्रधानसेनापति शर्माले राखेका थिए ।

सैनिक कल्याणकारी कोषमार्फत सेनाले शिक्षा, स्वास्थ्य, स्वरोजगार, पूर्वाधार निर्माणलगायत विभिन्न क्षेत्रमा योगदान पुु¥याउँदै आएको बताउँदै उनले शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा परेको बताए । कोषकै सक्रियतामा देशका विभिन्न भागमा विद्यालय, महाविद्यालय, अस्पातल आदि निर्माण भएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्