काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रक्रिया नरोकिने बताएका छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा आज भएको भेटवार्ता पछि प्रधानमन्त्री प्रचण्डले दबाबले अनुसन्धान नरोकिने बताए । उनले भने अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन ।
नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च नेता जोडिएपछि यसअघिको भेटमा एमाले अध्यक्ष ओलीले निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको बताए ।
प्रचण्ड भने, ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो । कसैलाई बचाइदिनुहोस् भन्ने कुरा त भएन । तर हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ । निर्दोष कोही नपरुन्, दोषी कोही नछुटुन् भन्ने हाम्रो मान्यता छ ।’ पक्राउ पुर्जी जारी भएपछि एमाले सचिव टोपबहादुर रायमाझी फरार भएका छन् ।