काठमाडौँ, २९ पुस । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाविधेशन फागुनमा हुने भएको छ ।
अनेरास्ववियुका महासचिव समिक बडालले आगामी फागुन २ देखि ४ गतेसम्म महाअधिवेशन गर्ने निर्णय गरिएकोे जानकारी दिए ।
अनेरास्ववियुको यसअघि २०७२ मा २२ औं राष्ट्रिय अधिवेशन भएको थियो । नेकपा ९माओवादी केन्द्र०सँग पार्टी एकताभएपछि अखिलको अधिवेशन हुन सकेको थिएन ।
महाअधिवेशनअघि माघ १५ गतेभित्र अधिवेशन हुन बाँकी भएका कमिटीको अधिवेशन गर्न भनिएको छ । महाधिवेशनका लागि माघ २५ गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गरी केन्द्रमा पठाउनसमेत भनिएको छ ।
माघ २० गते स्ववियु निर्वाचन सम्पन्न भएका कमिटी, माघ २१ गते देशभरिका जिल्ला कमिटी तथा माघ २३ गते प्रदेश कमिटी, विश्वविद्यालय राष्ट्रिय कमिटी, केन्द्रीय सम्पर्क कमिटी र प्रदेश सम्पर्क कमिटीबाट प्रनिनिधि छनोट गरिने महासचिव बडालले जानकारी दिए ।
महाधिवेशनका लागि अखिलका अध्यक्ष सुनिता बरालको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव बडालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र कोषाध्यक्ष जेनिश लामाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।
यही पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको एमालेका जनसङ्गठनको भेलाले राष्ट्रिय अधिवेशन/सम्मेलन चैत मसान्तभित्र गर्ने निर्णय गरेको थियो ।







