जनकपुर, १५ साउन । गत सोमबार राती ११ बजे जनकपुरधाम–४ मा १५ वर्षीया अन्जलीकुमारी यादवको खुकुरी प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साह रहेका छन् । हत्यामा प्रयोग गरिएको खुकुरी पनि बरामद भएको छ ।
बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत अन्जलीको हत्या गर्ने साहलाई सार्वजनिक गरेको हो । नेपाल सरकारले कुनैपनि घटनामा संलग्न रहेकालाई सार्वजनिक नगर्न सर्कुलर जारी गरेता पनि धनुषा प्रहरीले घटनाको प्रवृतिलाई मध्यनजर गर्दै विशेष अनुमति लिएर अभियुक्तलाई सार्वजनिक गरेको हो ।
पक्राउ परेका अभियुक्त साह यसअघि आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पाँचवर्ष जेल सजाय बिताएर निस्किएका थिए ।
के थियो घटना ?
अभियुक्त रामबाबु साह र मृतक अन्जलीकी आमा आशा यादवबीच धनुषाको महेन्द्रनगरस्थित एक पसलमा चिनजान भइ भेटघाट निरन्तर हुँदै आएको थियो ।
सो क्रममा दुबै जनाले संगै बस्ने निधो गरेपछि आशा यादवलाई जनकपुरधाममा डेरा लिइ आशाकी छोरी अन्जलीसहित साहसंगै बस्ने गरेका थिए । साह कामकालागि बाहिर गइरहने हुनाले आशालाई टेम्पो खरिद गरिदिएका थिए ।
तर आशाले टेम्पो आफ्नो भाइको नाममा दर्ता गराउन लगाएको अनुसन्धानमा देखिएको छ । त्यसपछि आशा यादव र अभियुक्त रामबाबु साहबीचको सम्बन्धमा चिसोपन आउन थालेको थियो । आशा यादवले रामबाबुलाई थाहा नदिई डेरा समेत अर्को स्थानमा सारेपछि दुबैबीच भनाभन सुरु भएको थियो ।
आशा यादवले रामबाबुको फोनसमेत उठाउन छोडेपछि रामबाबुले खुकुरी लिएर आएर राती नयाँ डेरा पत्ता लगाइ आशा यादवमाथि निर्घात प्रहार गरेका थिए । सो क्रममा रामबाबुले अन्जलीको घाँटीमा खुकुरी प्रहार गर्दा अन्जलीको मृत्यु भएको थियो भने आशा यादव पनि गम्भीर घाइते भएकी थिइन् ।
अहिले आशा यादवको उपचार जनकपुरधाममा सम्भव नभएपछि धरान रेफर गरिएको जिल्लाप्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । पक्राउ परेका साहलाई थप अनसन्धान पश्चात हदैसम्मको कारवाही गर्नेगरी अदालतमा हाजिर गर्ने धनुषा प्रहरीको भनाइ छ ।