काठमाडौं, २ माघ। भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरेकी छन् । माचाडोले बिहीबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेटेर आफ्नो देशको भविष्यबारे छलफल गरेकी थिइन् । सोही क्रममा उनले ट्रम्पलाई नोबेल शान्ति पुरस्कार पदक प्रदान गरेकी हुन् ।
‘मैले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कार पदक प्रदान गरेँ’ भेटपछि माचाडोले भनिन् । माचाडोले यसलाई भेनेजुएलाको स्वतन्त्रताप्रतिको ट्रम्पको ‘अद्वितीय प्रतिबद्धता’को मान्यताको रूपमा वर्णन गरेकी छन् । हालै अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्दै अमेरिका लगेपछि माचाडोको ट्रम्पसँगको भेटवार्ता भएको हो ।
ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कार जित्ने आफ्नो इच्छा खुला रूपमा व्यक्त गर्दै आएका थिए । ट्रम्पको निरन्तर इच्छाको बावजुद गत वर्ष नोबेल समितिले शान्ति पुरस्कारका लागि माचाडोको नाम घोषणा गरेको थियो । माचाडोले पुरस्कार जितेपछि अहिले यसलाई ट्रम्पलाई समर्पित गरिन् ।
यसैबीच, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा लेखेका छन् कि भेनेजुएलाकी माचाडोलाई भेट्नु आफ्नो लागि ठूलो सम्मानको कुरा हो । ट्रम्पले माचाडो एक अद्भुत महिला भएकी र धेरै कुरा सहेकी उल्लेख गरे । साथै, ट्रम्पले मचाडोले आफ्नो कामको लागि नोबेल शान्ति पुरस्कार दिएको भन्दै धन्यवाद पनि भनेका छन् ।
यता, नोबेल समितिले भनेको छ कि नोबेल शान्ति पुरस्कार पदक जो कोहीलाई पनि दिन सकिन्छ तर पुरस्कार हस्तान्तरण गर्न सकिँदैन ।







