Logo

अन्तर्राष्ट्रिय सुरक्षा खतराविरुद्ध लड्न आपसी समन्वयमा जोड दिनुपर्छ: प्रधानमन्त्री



काठमाडौँ, २१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रियरूपमा हुने सङ्गठित तथा साइबर अपराध र आतङ्कवादको वृद्धिका कारण विश्वले सुरक्षा चुनौतीको सामना गरिरहेको जनाउँदै त्यसका लागि आपसी समन्वय आवश्यक रहेको बताएका छन् ।

‘अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस तथा इन्टरपोलको १००औँ वार्षिकोत्सव’का अवसरमा आज काठमाडौँमा नेपाल प्रहरीले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्ता सुरक्षा खतराको पहिचान गर्दै त्यसको सामनाका लागि अन्तर्राष्ट्रिय समुदायबाट सामूहिक प्रयासको खाँचो रहेको औँल्याएका हुन् ।

“यस सन्दर्भमा, म सबै राष्ट्रहरूलाई विश्वव्यापी, क्षेत्रीय र उपक्षेत्रीयस्तरमा अन्तर्राष्ट्रिय सहयोग सुदृढ गर्न आग्रह गर्दछु”, उनले भने, “यी उदीयमान खतराहरूलाई प्रभावकारीरूपमा लड्न हामीले सूचना आदानप्रदानका साथै आपसी समन्वय गरी सामना गर्नुपर्छ ।”

नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको बताउँदै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीको सामना गर्न सक्छौँ भन्ने दृढविश्वास रहेको बताए ।

विश्व सुरक्षित र न्यायपूर्ण छ भनेर सुनिश्चित गराउन विभिन्न सङ्घसंस्था र संयन्त्रलाई बलियो बनाउँदै असमानता, गरिबी र अवसरको अभावलगायत अपराधका मूल कारणलाई पनि सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री दाहालले राष्ट्रका प्रतिनिधिका रूपमा हामीले नागरिकलाई त्रास र शोषणबाट मुक्त हुनसक्ने वातावरण सिर्जना गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिनुका साथै न्याय, निष्पक्षता र उत्तरदायित्वका सिद्धान्त पालना गर्दै विश्वमा शान्ति सुरक्षाका पक्षमा सहज वातावरण निर्माण गर्न आवश्यक रहेको औँल्याएका थिए ।

इन्टरपोलको सिद्धान्तलाई कायम राख्न नेपाल प्रहरीको समर्पण र प्रतिबद्धताका लागि प्रधानमन्त्री दाहालले बधाई दिए । संयुक्त राष्ट्रसङ्घसँग नेपाली सुरक्षा निकायको सहकार्यले नेपालमा मात्र नभई विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा पनि शान्ति, स्थिरता र विधिको शासन प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको उनले स्मरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्