काठमाडौं, २२ माघ । आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडामाथि शानदार जित निकालेको छ।
चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गर्दै अभ्यास खेलको सुखद अन्त्य गरेको हो। यस जितसँगै नेपाली टोली विश्वकपअघि उच्च मनोबलका साथ अघि बढेको छ।
१६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । नेपालको जितमा आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । २९ बल खेलेका उनी ५८ रनमा रिटायर्ड आउट भए । उनले ६ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै, सन्दीप जोराले ३० बलमा ४ चौका र १ छक्काको मद्धतमा ४४ रन बनाए । गुलशन झा ३१ रनमा अविजित रहे । बलिङतर्फ क्यानडाका जास्करन सिंह, अजयवीर हुन्डाइ र साद बिन जाफरले एक–एक विकेट लिए ।
त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन जोड्यो ।
उसका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन जोडे । श्रेयस मोव्वाले अविजित ३८ रनको योगदान दिए । १८ औं ओभरमा आक्रामक ब्याटिङ गर्दै मोव्वाले क्यानडाको लक्ष्य उकासे । उनले यस ओभरमा दुई छक्का र एक चौका प्रहार गरे ।
त्यस्तै, कन्वरपाल ताथगुरले २५ रन बनाउँदा जास्करन सिंहले पनि आक्रामक ब्याटिङ गर्दै ११ बलमा २१ रन जोडे । उनले तीन छक्का प्रहार गरे । निकोलक किर्तोनले १० रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए भने कुशल भुर्तेलले तीन ओभरमा २६ रन खर्चेर दुई विकेट लिए । सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट हात पारे ।
नेपालले पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटले हराएको थियो ।
नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ। नेपालको पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग हुनेछ। जुन खेलबाट नेपालले विश्वकपको यात्रा सुरु गर्नेछ। यसै समूहमा दुई–दुई पटकको विश्वविजेता वेस्ट इन्डिज र इङ्ल्यान्डसहित स्कटल्यान्ड र इटाली छन्।






