Logo

अपडेट : कास्कीमा पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो, ४ घाइते



 

कास्की, २८ असार । कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा १९ तल्लाकोट टारीमा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको छ भने पोखरा ३२ चैनपुरमा ३ जनाको मृत्यु भएको छ । यस्तै, मादी गाउँपालिका ११ तल्लो ताप्लेमा एकजनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १९ पुरनचौर तल्लाकोट टारीस्थित कुलबहादुर परियारको एकतले ढुँगामाटोले बनेको घर गएराति साढे १० बजे पछाडिबाट पहिरो खसेर पुरिदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना परी कुल बहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, ८५ वर्षीया लक्षीमा परियार,१५ वर्षीया प्रशना परियार, २० वर्षीया प्रभा परियार, २५ वर्षीय अस्मित परियारक मृत्यु भएको हो । सोही ठाउँमा उद्धार गर्ने क्रममा लडेर ५६ वर्षीया राधिका परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यस्तै पोखरा महानगरपालिका–३२ चैनपुर बाह्रबिसेमा आरती ओझाको घर पछाडिबाट खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १८ वर्षीय अस्मिता ओझा, १२ वर्षीय अनुष्का ओझा र ९ वर्षीय पुष्कर सुवेदी रहेको एसपी मोहन कुमार थापाले जानकारी दिए । ४० वर्षीय आरतीलाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको छ ।

कास्कीको मादी गाउँपालिका–११ तल्लो ताप्लेमा घर पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्