Logo

अपडेट: बाढी-पहिरोमा परी देशभर ११२ को मृत्यु, ६८ बेपत्ता



काठमाडौँ, १३ असोज ।  अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो मात्रामा जनधन क्षति भएको छ । बाढीपहिरो र डुबानबाट शनिबार रातिसम्म १ सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् । देशभर कम्तीमा १ सय जना घाइते भएका छन् । सडक, पुल, विद्युत्लगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।

सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यकामा २४ घण्टामा ३ सय २३ मिलिमिटर वर्षा मापन गरिएको छ । काठमाडौं उपत्यकामा मात्रै बाढीपहिरो र डुबानमा परी ३७ जनाको मृत्यु भएको छ, २० जना बेपत्ता छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट शनिबार राति ११ बजेसम्म प्राप्त विवरणअनुसार विपद्बाट काभ्रेमा ३४, ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, मकवानपुरमा ७, पाँचथर र भक्तपुरमा ५र५, सिन्धुपाल्चोकमा ४ र दोलखामा ३ जनाको मृत्यु भएको छ ।

यस्तै धनकुटा र सोलुखुम्बुमा २र२ जना, रामेछाप, महोत्तरी र सुनसरीमा १र१ जनाको ज्यान गएको छ । पाँचथर, झापा, महोत्तरी, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, धादिङ र रूपन्देहीमा गरी ६८ जना बेपत्ता छन् ।

गृह मन्त्रालयको अभिलेखमा भने बाढीपहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ९९ मात्र छ । ‘फिल्डबाट तथ्यांक आउने क्रम जारी रहेकाले विवरण अद्यावधिक भइरहेको छ,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भन्नुभयो । उहाका अनुसार विपद्मा फसेका २ हजार २३ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ ।

धादिङमा माइक्रोबसमा पुरिएर ज्यान गुमाएका १४ जना र मकवानपुरको सिस्नेरीमा पुरिएर मृत्यु भएका ६ जनाको शव पोस्टमार्टमका लागि शनिबार राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको छ । बुटवलबाट शुक्रबार काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङ र काठमाडौंको सीमा क्षेत्र झ्याप्लेखोलामा पहिरोमा पुरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्