झापा, ११ वैशाख । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन सफल बनाउन झापाका नागरिक समाज, अधिकारकर्मी, निजी क्षेत्र तथा विभिन्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।
संवाद समूह झापाको संयोजनमा आइतबार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित, विश्वसनीय, उत्साहजनक सहभागिता र व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोगी एवम् सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन् ।
छलफलमा सहभागीले ज्येष्ठ नागरिक, अपाङ्गता तथा असक्त मतदाता, महिलाका समस्याबारे अवगत गराएका थिए । नागरिक समाज, अधिकारकर्मी तथा निजी क्षेत्रले राखेका समस्यालाई सम्बोधन गर्दै झापाका सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र नेपाल र जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रशासन तथा जिल्ला निर्वाचन कार्यालयका तर्फबाट हरेक मतदान केन्द्र, ज्येष्ठ नागरिक, अपाङ्गता, असक्त तथा महिला मतदातामैत्री बनाउने प्रतिबद्धता जनाइएको छ । त्यस्तै ज्येष्ठ नागरिक, अपाङ्गता भएका र असक्तहरुका लागि मतदानको दिन यातायातको व्यवस्थापन र उनीहरुलाई सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाइनेसमेत प्रतिबद्धता जनाइएको छ । निर्वाचन कार्यालयको तर्फबाट हरेक मतदान केन्द्रमा आवश्यकता बमोजिम खानेपानी, शौचालय लगायतका आधारभूत संरचनाको व्यवस्थापन एवम् पायक पर्ने ठाउमा आकस्मिक औषधि उपचारको व्यवस्थापन समेत गरिने प्रतिबद्धता जनाइएको छ ।
आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य निकायका तल्लो इकाइसम्मलाई तयारी अवस्थामा राख्ने, रेडक्रस लगायतका निकायसंग सहकार्य गर्ने पनि जनाइएको छ । सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिले निर्वाचन आचारसंहितालाई पूर्णपालना गर्ने र अरुलाई पनि आचारसंहिता पालनामा खबरदार गर्दै अनुगमन कार्यलाई मर्यादित र प्रभावित बनाउने प्रतिबद्धता जनाए ।
त्यस्तै विभिन्न माध्यमबाट प्रदान गरिने मतदाता शिक्षा तथा निर्वाचन कार्यालयबाट स्थापना गरिने मतदाता शिक्षा सहायता कक्षलाई प्रभावकारी बनाउन सहयोगी र सहकार्यात्मक भूमिका निर्वाह गर्ने सहभागीको प्रतिबद्धता छ । मतादाता शिक्षा प्रभावकारी हुन नसकेको सहभागीको गुनासो सम्वोधन गर्दै जिल्ला निर्वाचन प्रमुख नेपालले त्यसबारे तत्काल आवश्यक व्यवस्थापन गर्ने बताए ।
त्यस्तै निर्वाचनका क्रममा कुनै समस्या उत्पन्न भए सरोकारवालाबीचको छलफल, संवाद र सहभागीबाट समाधानको पहल गर्ने निष्कर्ष निकालिएको छ । छलफलमा सहभागी वरिष्ठ अधिवक्त लीला उदासी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, नियोग झापाका संयोजक डा.रुपक खनाल, मानव अधिकार सञ्जाल झापाका संयोजक विष्णु खरेल, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष हरिप्रसाद अधिकारी, गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य छविलाल खतिवडा र महासंघका झापा अध्यक्ष हरि गौतमले विभिन्न सुझाव राख्नुका साथै आफ्नो क्षेत्रबाट प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, अधिवक्ता कोपिला बस्नेत, नारी सञ्चार गृह झापाको तर्फबाट संस्थापक अध्यक्ष सावित्रा दाहाल र उपाध्यक्ष रेजिना रोदन, यौनिक र अल्पसंख्यकहरुका तर्फबाट लिड नेपालका हस्त मगर, नियोगका तर्फबाट मिरा भट्टराई, युवराज रिजाल लगायतले प्रतिबद्धता जनाएका छन् ।
सहायक प्रजिअ न्यौपानेले सहभागीका सुझाव र छलफलको निष्कर्षलाई कार्यान्वयन गर्ने जनाएका छन् । उनले निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा नजिकैको प्रहरी कार्यालय तथा जिल्लास्थित अनुगमन समितिलाई तत्काल सूचना उपलब्ध गराउन र आचारसंहिता पालनामा खबरदारी गर्न आग्रह गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख नेपालले निर्वाचनको तयारी लगायतका विषयमा जानकारी गराएका थिए । उनले नागरिक समाजकातर्फबाट आचारसंहिता कार्यान्वयनमा सशक्त खबरदारी भए निर्वाचन सफल बनाउन महत्वपूर्ण टेवा पुग्ने बताए ।