चितवन, ३ चैत्र । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएकै आधारमा गृह मन्त्रालयले एक युवकलाई प्रहरी खटाएर पक्राउ गरेको छ। राप्रपानिकट प्रजातान्त्रिक युवा संगठनका निराजन बमलाई मकवानपुर पैहरीले चितवन प्रहरीको सहयोग लिएर पक्राउ गरेको हो।
बममाथि कुन आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो र उनलाई कुन मुद्दा लगाइएको छ वा लगाउने तयारी गरिएको छ भन्ने स्पष्ट छैन। तर, कसैको विरोध गरेकै आधारमा र पुत्ला वा तस्वीर जलाएकै आधारमा पक्राउ गर्ने प्रचलन नेपालमा सामान्य अभ्यासमा छैन।
यसअघि माओवादी पार्टीकै अगुवाइमा र यो पार्टीका विभिन्न संगठनहरुको अगुवाइमा धेरै पटक यस्ता पुत्ला जलाउने घटना भइसकेका छन्। यसरी पुत्ला जलाउँदा पुत्लामा सम्बन्धित व्यक्तिको तस्वीर टाँसिएका थिए। माओवादी मात्र नभएर अन्य दलका विभिन्न संगठनले पनि यसअघि दर्जनौं पटक फोटो टाँसेर पुत्ला जलाएका भए पनि उनीहरुलाई पक्राउ गरिएको थिएन।
बमले शनिबार मकवानपुरमा भएको एक कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डको आलोचना गर्दै प्रचण्डको फोटो जलाएका थिए। प्रचण्डले गत बिहीबार सिन्धुपाल्चोकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमारा र मूर्ति चोर भनेका थिए। यसको विरोध गर्दै बमले प्रचण्डको फोटो जलाएका हुन्।
नेपालको प्रचलित कानुनअनुसार फोटो जलाउने बमलाई पक्राउ गर्न र कारवाही गर्न कुनै कानुन आकर्षित गर्न सकिने भए पनि यस्तो अभ्यासमा भने थिएन। यद्यपि प्रहरीले स्वयं प्रचण्डविरुद्ध भने कुनै कारवाही गरेको छैन । प्रचलित कानुनअनुसार प्रचण्डको अभिव्यक्ति पनि फौजदारी कसूर अन्तर्गत पर्छ।
पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डले भाइमारा भनेका थिए । जबकि पूर्वराजाले आफ्ना दाजुभाइको हत्या गरेको कुन्र प्रमाण छैन। तत्कालीन राजा वीरेन्द्रको हत्या भएपछि गठन गरिएको उच्चस्तरीय छानबिन समितिले ज्ञानेन्द्र शाहलाई निर्दोष ठहर गरेको थियो। अन्य कुनै पनि अनुसन्धानले उनलाई दोषी ठहर गरेको छैन।
तत्कालीन सरकारले गठन गरेको न्यायाधीश र सभामुख सम्मिलित टोलीको अनुसन्धानबाटै निर्दोष ठहर भइसकेको र अन्य कुनै अनुसन्धानले दोषी नभनेको व्यक्तिलाई सार्वजनिक मञ्चमा उभिएर हत्याजस्तो गम्भीर अपराधको आरोप लगाउनु आफैंमा फौजदारी कसूर हो र यसमा जेल सजाय समेत हुने कानुनी प्रावधान छ।