Logo

अफगानिस्तानका विश्वविद्यालय खुल्दै, महिलामाथिको प्रतिबन्ध कायमै



काबुल, २३ फागुन (एएफपी) । अफगानिस्तानका विश्वविद्यालय जाडो बिदापछि सोमबारदेखि खुलेका छन्, तर तालिबान अधिकारीले उच्च शिक्षामा महिलामाथि प्रतिबन्ध लगाएपछि पुरुष मात्र कक्षामा फर्केका छन् ।

सन् २०२१ को अगष्टमा तालिबान सत्तामा फर्किएपछि महिलामाथि लगाइएको प्रतिबन्धमध्ये विश्वविद्यालयको प्रतिबन्ध पनि एक हो । “आफूहरू घरमै बस्नुपर्ने अवस्था र केटाहरूमात्र विश्वविद्यालय गएको देख्दा मन खिन्न हुन्छ,” मध्य प्रान्त घोरकी २२ वर्षीया रहेलाले भनिन् ।

उनले भनिन्, “यो बालिकाहरूविरुद्ध लैङ्गिक भेदभाव हो, किनकी इस्लाम धर्मले हामीलाई उच्च शिक्षा हासिल गर्न अनुमति दिन्छ । हामीलाई सिक्नबाट कसैले रोक्नु हुँदैन ।” तालिबान सरकारले महिला विद्यार्थीले कडा ड्रेस कोड र क्याम्पसभित्र र बाहिर पुरुष नातेदारको साथमा हुनुपर्ने आवश्यकतालाई बेवास्ता गरेको आरोप लगाउँदै छात्राहरूलाई विश्वविद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो ।

अधिकांश विश्वविद्यालयले पहिले नै लैङ्गिक-पृथक प्रवेश द्वार र कक्षाकोठा सुरु गरिसकेका थिए, साथै महिलालाई महिला प्रोफेसर वा वृद्ध पुरुषले मात्र पढाउन अनुमति दिएका थिए ।

अफगानिस्तानको सबैभन्दा ठूलो काबुल विश्वविद्यालयमा इञ्जिनियरिङका विद्यार्थी एजातुल्लाह नेजातीले यो महिलाको पढ्न पाउने मौलिक अधिकार भएको बताए ।

नेजातीले भने, “उनीहरू छुट्टाछुट्टै दिनमा कक्षामा उपस्थित भए पनि यो कुनै समस्या होइन । उनीहरूलाई शिक्षाको अधिकार छ र त्यो अधिकार उनीहरूलाई दिनुपर्छ,” विश्वविद्यालय परिसरमा प्रवेश गर्ने क्रममा उनले भने ।

हेरातमा पत्रकारितामा अध्ययनरत वहीदा दुर्रानीले गत वर्ष विश्वविद्यालयबाट वञ्चित हुनुअघि तालिबान सरकारले महिलाहरू अशिक्षित रहुनन् भन्ने चाहेको बताए ।

उनले भने, “यदि अफगानी बालिका र महिला शिक्षित भए भने उनीहरूले इस्लाम र कुरानको शोषण गर्ने सरकारलाई कहिल्यै स्वीकार गर्ने छैनन् र उनीहरू आफ्नो अधिकारको पक्षमा उभिनेछन् भनी तालिबान सरकार डराएको र महिलालाई शिक्षाबाट वञ्चित गर्न प्रतिबन्ध घोषणा गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्