काठमाडौँ, १८ मंसिर । युएईमा जारी यु–१९ एसिया कप क्रिकेटमा प्रतियोगिता अन्तर्गत नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।
दुबईको सारजाह क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल १ विकेटले विजयी भयो ।
अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ४१।३ बलमा लक्ष्य पुरा गर्यो ।
नेपालको जितमा नरेन साउँदले सबैभन्दा धेरै २६ रन बनाए । अर्जुन कुमालले २१ रनको योगदान दिँदा कप्तान हेमन्त धामीले २२ रनको नट आउट पारि खेले ।
अभिषेक तिवारीले १३ रन जोड्दा रोशन विश्वकर्माले ९ रन बनाए । आकाश त्रिपाठीले ९ रन बनाए भने नारायण यादव १ रनमा आउट भए ।
सन्तोष यादवले ७ रन बनाए भने नरेन भट्ट र उत्तम थापा मगरले २–२ रनको योगदान दिए ।
युनिश विक्रम ठकुरी शून्य रनमा नटआउट रहे । एसिया कपमा नेपालको यो पहिलो जित हो ।
नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।
अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलङ्कासँग १३१ रनले पराजित भएको थियो ।