Logo

अफगानिस्तानमा कार्यरत चार मुख्य गैरसरकारी संस्थाले आफ्नो काम रोके



काठमाडौँ, ११ पुस । अफगानिस्तानमा तालिबानले गैरसरकारी संस्थामा महिलालाई काम गर्न रोक लगाएपछि चार वटा मुख्य गैरसरकारी संस्थाले आफ्ना काम रोकेका छन् ।

अफगानिस्तानमा कार्यरत केयर इन्टरनेशनल, नर्वेजियन रेफ्युजी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले “महिला कर्मचारी विना” आफूहरूले कामलाई निरन्तरता दिन नसक्ने बताएका छन् ।

द इन्टरनेशनल रेस्क्यु कमिटीले पनि आफ्नो सेवा स्थगित गर्ने जनाएको छ । अफगानिस्तानभरि ३ हजार महिलालाई रोजगारी दिएको इन्टरनेशनल रेस्क्यु कमिटी आईआरसीले आफ्नो संस्थाको सबै तहमा सेवा दिने क्षमता महिला कर्मचारीमा भर पर्ने भन्दै महिला कर्मचारीलाई रोजगारी दिन नसकिए “अप्ठेरोमा परेकाहरूलाई” सेवा दिन नसक्ने जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घका मानवीय मामिलासम्बन्धी संयोजक रमिज आलेकबारफले तालिबानको पछिल्लो प्रतिबन्ध उल्ट्याउन आफूले कोसिस गरिरहेको र त्यस्तो प्रतिबन्ध “मानवीयतासम्बन्धी काम गर्ने समग्र समुदायलाई नै अस्वीकार्य” हुने बताएका छन् ।

तालिबान अधिकारीहरूले सहायता समूहमा काम गर्ने महिला कर्मचारीमाथि लगाइएको प्रतिबन्धको आदेश नउल्ट्याए संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानमा मानवीयतासम्बन्धी सहायता दिन बन्द गर्नसक्ने एक अधिकारीले बताएका बीबीसीले जनाएको छ ।

तालिबानले गैरसरकारी संस्थामा महिलालाई काम गर्न रोक लगाएपछि चौतर्फी विरोध भइरहेको छ । तालिबानले महिला अधिकारलाई निरन्तर रूपमा दबाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्