Logo

अफगानिस्तानमा सामाजिक सञ्जालका प्लेटफर्महरुमाथि प्रतिबन्ध



काठमाडौं, २४ असोज । अफगानिस्तानमा केही सामाजिक सञ्जाल प्लेटफर्महरुका सामाग्रीमाथि प्रतिबन्ध लगाइएको छ ।

देशभर दुईदिनसम्म इन्टरनेट र दूरसञ्चार सेवा विच्छेद गरिएको एक सातापछि तालिबान सरकारले सामाजिक सञ्जाल प्लेटफर्मका सामाग्रीमाथि प्रतिबन्ध लगाएको हो ।

तालिबान सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार फेसबुक, इन्स्टाग्राम र एक्समा आउने केही सामाग्रीमाथि प्रतिबन्ध लगाइएको छ ।

कस्ता किसिमका सामाग्रीको प्रतिबन्ध लगाइएको हो भन्ने बारे सरकारले केही उल्लेख गरेको छैन । तालिबानले सामाजिक सञ्जालको सामाग्रीहरुमा प्रतिबन्ध लगाएसँगै आफूहरुको व्यापार व्यवसायमा सिधै असर परेको स्थानीयको भनाई छ ।

अफगानिस्तानको सरकारमा तालिबान आएसँगै नागरिक स्वतन्त्रताका विषयमा व्यापक कटौती गर्दै गएको सर्वसाधरणको गुनासो छ । सत्तामा फर्किएसँग तालिबानले इस्लामिक शरिया कानुनको आफ्नै व्याख्या अनुसार थुप्रै प्रतिबन्ध लगाएको छ ।

१२ वर्षमाथिका बालिकाहरुलाई पढन निषेध गरेको तालिवान सरकारले इन्टरनेट प्रयोगमा लगाएको प्रतिबन्धले बालिकाहरुमा थप असर गरेको बताइएको छ ।

अफगानिस्तानमा तालिबानले बालिकाहरुको औपचारिक तथा अनौपचारिक शिक्षा पाउने अधिकार बञ्चित गरेको स्थानीयले गुनासो गरेका छन ।

प्रतिक्रिया दिनुहोस्