काठमाडौँ, ८ असार । अफगानिस्तानमा गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या एक हजार जना नाघेको छ ।
पाक्ति प्रान्तमा गएराति गएको ६ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण संरचनाहरूमा क्षति हुँदा ज्यान गुमाएका एक हजार जनाभन्दा धेरैको शव भेटिएको अफगान सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भूकम्पमा घाइते भएका एक हजार पाँच सय जनाभन्दा धेरैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । खोजी तथा उद्धार चलिरहेकोले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने तालिबान नेता हिबतुल्लाह अखुन्जादाले बताएका छन् । भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।
अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करीमीले उद्धार, राहत तथा थप प्रकोप रोक्नका लागि आवश्यक टोली परिचालन भएको बताए ।