Logo

अफगानी नागरिक विश्वकै सबैभन्दा जटिल भोकमरी सङ्कटमा



काठमाडौँ, २६ कात्तिक । अफगानिस्तानका नागरिक विश्वकै सबैभन्दा जटिल भोकमरी सङ्कटमा रहेका संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले जनाएको छ ।

अघिल्लो वर्ष तालिबानले नेतृत्व लिएदेखि नै अफगानिस्तानमा खाद्य असुरक्षा बढेको छ ।

प्रतिवेदनमा अफगानी नागरिक विश्वकै विकराल भोकमरीको समस्यामा रहेका उल्लेख छ । एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन् ।

यो कुल जनसङ्ख्याको आधाभन्दा धेरै सङ्ख्या हो । प्रतिवेदनले सन् २०२२ मा तीव्र खाद्य असुरक्षासाथै एसिया र प्रशान्त क्षेत्रको आर्थिक, वातावरणीय र विकासका मुद्दाहरूलाई पनि उजागर गरेको छ । यसबाहेक काबुलका बासिन्दाले आर्थिक सङ्कटका कारण खाद्यान्नको मूल्य बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।

काबुलका बासिन्दा रहमानुल्लाले मासिक एक बोरा पीठो किन्न पनि कठिनाइ भइरहेको गुनासो गरेका छन् । विश्व खाद्य कार्यक्रमले पनि अफगानिस्तानको आर्थिक सङ्कटबारे चिन्ता व्यक्त गरेको छ । चार दशक लामो द्वन्द्व, जलवायु सङ्कट, कोभिड-१९ र सामाजिक-आर्थिक सङ्कटका कारण विगत एक वर्षमा देशभरिका मानिसहरू रोजगारी र जीविकोपार्जनबाट वञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्