Logo

अबका सबै निर्वाचनमा कांग्रेस पहिलो पार्टी: महत



सल्यान, ६ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अबका तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

सल्यानको छत्रेश्वरीमा निर्मित पार्कको आज उद्घाटन गर्दै उनले भने ‘‘अबका तिनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ, नेपाली जनताले चाहेको पनि यही हो, यसका लागि हामी कार्यकर्ता पनि लाग्नुपर्छ ।’’

प्रवक्ता डा महतले कम्युनिष्टहरुले जनताले दिएको मतको मूल्याङ्कन र सम्मान गर्न नसकेकाले परिस्थितिबस अहिले कांग्रेस सत्तामा पुगेको प्रसङ्ग उल्लेख गर्दै भने ‘‘कांग्रेस आफूले चाहेर नभई कम्युनिष्टहरुले देशलाई दुर्घटनामा पार्न लागेकाले नेपाली जनताको चाहना बमोजिम नै कांग्रेसले सत्ताको नेतृत्व गर्नुपरेको हो ।’’

इतिहासमा देशलाई अप्ठ्यारो परेका समयमा यसरी नै कांग्रेसले देशलाई नेतृत्व दिने गरेको र नेपाली जनताले पनि साथ दिएको स्मरण गर्दै प्रवक्ता डा महतले अबका स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनमा कांग्रेसलाई नै नेपाली जनताले पहिलो पार्टी बनाउने बताए ।

अघिल्लो नेकपाको सरकारको कुशासन र भ्रष्टाचार नेपाली नागरिकले देखेका र त्यस समयको ओली सरकारले दिएका झुठा आस्वासन पनि थाहा पाइसकेकाले नेपाली जनताले अब विवेक पु¥याइ नेपाली कांग्रेसलाई रोज्ने उनले बताए ।

उनले अबका सबै निर्वाचनहरुमा एक ढिक्का भई पार्टीलाई जिताउने काममा लाग्न जिल्लाका कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्