काठमाडौँ, ९ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रूपमा अघि बढ्ने बताएका छन् ।
सोमवार ललितपुरमा नेपाल ललितकला सङ्घले आयोजना गरेको कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजान सक्ने समाज बनाएर जान कांग्रेस सक्षम रहेको दाबी गरे । उनले नेपाललाई श्रीलङ्का नबन्ने बाटोमा लैजान, नेपाललाई समुन्नतिको उचाइको बाटोमा लैजान कांग्रेस पार्टी सक्षम रहेको बताए ।
उनले भने, ‘यो देशलाई समुन्नत उचाइमा लिएर जान बाँकी छ । नेपाललाई श्रीलङ्का नबन्ने बाटोमा, नेपाललाई समुन्नतिको उचाइमा लैजान नेपाली कांग्रेस पार्टी सक्षम छ । यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजान सक्ने समाज हामी बनाएर जानेछौँ । अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रूपमा लैजानुपर्छ ।’







