जुम्ला, २२ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले कर्णालीको विकासमा प्राथमिकता दिने बताएका छन् ।
सत्तारूढ गठबन्धनको सभालाई सम्बोधन गर्न मङ्गलवार जुम्ला पुगेका अध्यक्ष प्रचण्डले मङ्सिर ४ गतेको चुनावमा गठबन्धनको जित सुनिश्चित भएको दाबी गर्दै अबको विकास कर्णाली र सुदूरपश्चिममा हुने बताए ।
उनले सिञ्जा सभ्यता नेपालको गौरवको सभ्यता भएकाले सरकारले सिञ्जासम्बन्धी प्रतिष्ठान बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
सम्बोधनकै क्रममा अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन देशलाई अँध्यारोबाट बचाउन आवश्यक भएको जिकिर गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइको सरकार बचाउन नसकेको र पार्टी विभाजन गर्ने काम गरेकाले एमालेलाई नागरिकसँग मत माग्न सक्ने अधिकार नभएको दाबी गरेका थिए ।







