विराटनगर, ७ भदौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धेरैजसो पार्टीमा कहिले पुराना नेताहरूले कहिले छोड्लान् र पार्टीले टिकट देला भन्ने मनसायले प्रार्थना गरेर बस्नुपर्ने स्थिति देखापरेको बताएका छन् ।
मङ्गलवार सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष तिमिल्सिनाले अबको चुनावमा मन्त्री र सांसदका लागि मात्रै उम्मेदवारी दिने नभइ के गर्ने हो भन्ने योजनासहित जनतामाझ जानुपर्ने र नागरिकले पनि विकास गर्नसक्ने नेतालाई जिताउनुपर्ने आवश्यक रहेको बताए । उनले भने, ‘अहिले पार्टीका नेता, कार्यकर्ता कहिले पुराना नेताहरूको जीवन अन्त्य हुन्छ र टिकट पाउँला भनेर प्रार्थना गरिरहेका छन् । अब दलहरूले क्षमता, योग्यता हेरेर प्रतिनिधि अघि बढाउनुपर्छ ।’
अध्यक्ष तिमिल्सिनाले दुर्गम ठाउँको विकासका लागि र निर्धाहरूको आवाज बनेर सङ्घीयता आउनुपर्ने बताए । देशलाई प्रगतिपथमा कसरी अघि बढाउने, भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा अब जनतासमक्ष सैद्धान्तिक नभइ व्यवहारमा जोडिनुपर्ने उनको भनाइ थियो ।
उनले देशलाई गरिबीबाट धनी बनाउने, अविकसितबाट विकसित बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।







