काठमाडौँ, ३ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू विचार मिल्नेसँग एकता गर्नेबारे छलफल भइरहेको बताएका छन् ।
आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकपछि प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ताकाका नेताहरूबीच विचार मिल्नेहरूको बिचमा एकताको सम्भावनाबारे छलफल भइरहेको बताए ।
‘गठबन्धनलाई कायम राखेरै जानुपर्छ भन्नेमा हाम्रो कसैको विमति छैन । तर, स्थानीय चुनावको अनुभवलाई ध्यान दिएर आगामी दिनमा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा चर्चा गर्यौँ । अर्कोतिर विचार मिल्नेहरूको बिचमा एकताको सम्भावनाको बारेमा पनि हामीले छलफल गरिरहेका छौँ ।’
उनले आफूहरूबीच वामपन्थीहरूलाई कसरी एक बनाउने भन्ने विषयमा छलफल भइरहेको पनि बताए । ‘हेर्दै जानुहोला । अब वामपन्थीहरू नजिक हुँदै जान्छौँ,’ उनले भने ।







