Logo

अमिनीको मृत्युको विरोध प्रदर्शन सुरु भएयता ७०० जना भन्दा बढी पक्राउ



इरान, ९ असोज । ‘नियम विपरित हिजाब’ लगाएर महिलाको पहिरनसम्बन्धी कडा नियम पालना नगरेको आरोपमा प्रहरी हिरासतमा इरानमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि भएको विरोध प्रदर्शनका क्रममा ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।

गत साता तेहरानमा पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको हिजाब राम्रोसँग नलगाएको भन्दै ‘रि-एजुकेसन सेन्टर’मा लगिएपछि भएको मृत्युपछि हजारौं इरानी नागरिक सडकमा उत्रिएका छन् ।

अल जजिराका अनुसार २२ वर्षीया महसा अमिनी आफ्नो परिवारसँग तेहरान भ्रमणमा रहेका बेला विशेषज्ञ प्रहरी इकाइले उहाँलाई पक्राउ गरेको थियो । हिरासतमा रहँदा केही समयपछि उनलाई हृदयाघात भएको र तत्काल आकस्मिक सेवाको सहयोगमा अस्पताल लगिएको थियो । उनलाई अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो ।

तस्निम समाचार एजेन्सीका अनुसार इरानी प्रहरीले एक हप्ताअघिदेखि सुरु भएको प्रदर्शनयता ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मालेकीले ६० महिलासहित ७३९ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको बताए ।

इरानका राष्ट्रपति इब्राहिम रायसीले देशको सुरक्षा र शान्तिमा खलल पु¥याउनेहरूसँग ‘निर्णायक रूपमा व्यवहार गर्न’ आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्