Logo

अमेरिकाले नेपाललाई दियो २६३ रनको चुनौती



काठमाडौं, ९ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अहिले अमेरिकासँग खेलिरहेको छ । दुबईको मैदानमा जारी खेल जितका लागि नेपालले २६३ रनको चुनौती पाएको छ ।

नेपालले टस जितेर पहिले बलिङ रोजेसँगै ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो ।

अमेरिकाका लागि ‌ओपनिङ ब्याट्सम्यान स्मित पटेलले ७५ तथा मिलिन्द कुमारले अविजित रहँदै ७० रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

लिग-२ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिएको हो ।

पछिल्ला चार भिडन्तमा नेपालले तीन खेल जित्दा एक खेल हारेको छ । अमेरिकाले पनि तीन खेल जित्दा एक खेल हारेको छ ।

आपसका पछिल्ला चार भिडन्तमा नेपाल एकपटकमात्र विजयी भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर विश्वकप लिग-२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ ।

दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार यूएईसँग भिड्ने तालिका छ ।

विश्वकप लिग-२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ । समान खेल खेलेको यूएईको ६ अंक छ ।

तालिकामा नेपाल सातौँ स्थानमा छ भने यूएई आठौँ स्थानमा छ ।

२० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

टी-२० विश्वकपमा स्थान बनाइसके पनि लिग-२ मा भने नेपालले संघर्ष गरिरहेको छ । नेपालको गत सिजन भन्दा खराब खेल चलिरहेको छ । २४ खेलबाट ३० अंकसहित स्कटल्याण्ड शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स २४ खेलबाट २८ अंकसहित तेस्रो स्थानमा छ ।

ओमान २० खेलबाट २४ अंकसहित चौथो, क्यानाडा २४ खेलबाट २१ अंकसहित पाँचौँ तथा नामिबिया २४ खेलबाट १९ अंकसहित छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्