Logo

अमेरिका जुलाईदेखि युनेस्कोमा पुन: सामेल हुने



अमेरिका, २९ जेठ । संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा वासिङ्टनले आफ्नो सदस्यता समाप्त गरेको लामो विवादको अन्त्य गर्दै यस वर्षको जुलाईदेखि युनेस्कोमा पुन: सामेल हुने योजना बनाएको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक निकायले सोमबार घोषणा गरेको छ ।

“यो युनेस्को र बहुपक्षीयताप्रतिको विश्वासको बलियो कार्य हो,” युनेस्कोका महानिर्देशक अड्रे अजोलेले पेरिसमा सङ्गठनका सदस्य राष्ट्रका प्रतिनिधिलाई वासिङ्टनको पुन: सामेल हुने निर्णयबारे जानकारी दिँदै भने ।

युनेस्कोको संस्थापक सदस्य संयुक्त राज्य अमेरिकाले यस निकायले प्यालेस्टाइनलाई सदस्य राष्ट्रको रूपमा स्वीकार गर्दासम्म अर्थात् सन् २०११ सम्म युनेस्कोको बजेटमा प्रमुख योगदान गरेको थियो । तर प्यालेस्टाइनलाई सदस्य राष्ट्रका रूपमा स्वीकार गरेपछि अमेरिकाको उक्त निकायसँगको विवाद शुरू भएको थियो ।

सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँगै युनेस्कोबाट अमेरिका पनि बाहिरिने घोषणा गरेका थिए । यसको बहिर्गमन सन् २०१८ मा लागू भएको थियो ।

सन् २०१७ देखि युनेस्कोको नेतृत्व गर्दै आएकी फ्रान्सकी पूर्व संस्कृतिमन्त्री अजोलेले अमेरिकालाई फिर्ता ल्याउनु आफ्नो म्यान्डेटको प्राथमिकतामा राखेका थिइन् । सन् २०११ मा युनेस्कोको योगदान स्थगन हुनुअघिसम्म अमेरिकाले युनेस्कोको कुल बजेटको करिब २२ प्रतिशत अर्थात् सात करोड ५० लाख अमेरिकी डलर तिर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्