काठमाडौँ, १२ मंसिर । अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
रामेछापको रामेछाप नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीय योगेशराज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ सुविधानगर तिनकुने बस्ने ३० वर्षीया धनकुमारी ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।
अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख ७ हजार रूपैयाँ रकम ठगी गरी सम्पर्क विहीन भएका योगेश राजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट सोमबार पक्राउ गरेको हो ।
साथै धनकुमारी समेतले विभिन्न व्यक्तिहरूलाई पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिन्छु प्रतिव्यक्ति १३ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रूपैयाँ ठगी गरी सम्पर्क विहीन भएकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले धनकुमारीलाई ललितपुर सातदोबाटोबाट आइतबार पक्राउ गरेको हो ।