न्युजिल्यान्ड, १६ साउन । अमेरिका र नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् ।
मङ्गलवार फोर्थिस बार स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा भियतनामलाई ७-० गोलले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा पुगेको हो ।
नेदरल्यान्ड्सको जितमा इस्मी ब्रुट्स र जिल रुर्डले २ तथा लिके मार्टिन्स, कट्जा स्नोइस र ड्यानिल भान डि डन्कले १ गोल गरिन् । नेदरल्यान्ड्स ७ अङ्कका साथ समूह ‘ई’ को शीर्ष स्थानमा रहन सफल भयो । भियतनाम कुनै पनि खेल जित्न नसकी प्रतियोगिताबाट बाहिरिएको हो ।
आजै यसै समूहको अर्को खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै अमेरिका पनि अन्तिम १६ मा पुगेको छ । पोर्चुगललाई नकआउट चरणमा जानका लागि आजको खेल जित्नैपर्ने दबाब थियो तर बराबरीमा रोकिएर समूह चरणबाटै बाहिरिएको छ । अमेरिका ५ अङ्कसहित दोस्रो स्थानमा रहँदा अन्तिम १६ मा पुग्दा पोर्चुगल ४ अङ्कसहित बाहिरिएको हो ।