अमेरिका, १७ असोज । अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई पदबाट हटाइएको छ ।
संसदमा भएको मतदानपछि रिपब्लिकन सभामुख म्याक्कार्थीलाई पदबाट हटाइएको हो ।
मतदानमा सभामुख म्याक्कार्थीलाई हटाउने पक्षमा २ सय १६ मत र नहटाउने पक्षमा २ सय १० मत परेको थियो । सभामुख म्याक्कार्थीले आफूविरुद्धको प्रस्ताव व्यक्ति लक्षित भएको टिप्पणी गरेका छन् । रिपब्लिकन सांसद म्याट गेट्जले म्याकार्थीलाई निष्कासन गर्न सोमवार संसदमा औपचारिक प्रस्ताव दायर गरेका थिए ।
म्याक्कार्थी अमेरिकी इतिहासमा यसरी मतदानबाट हटाइएका पहिलो सभामुख बनेका छन् । सभामुख पदमुक्त भएपछि संसदमा बजेटमाथिको छलफल प्रभावित हुने देखिएको छ । तत्कालका लागि रिपब्लिकन सांसद प्याट्री म्याकअन्रीलाई अन्तरिम सभामुख छानिएको बीबीसीले जनाएको छ ।







