Logo

अमेरिकी राष्ट्रपति ट्रम्पलाई दक्षिण अफ्रिकाको जवाफ, किसानको सामूहिक हत्या र जग्गा कब्जाको आरोप अस्वीकार



काठमाडौं, २२ माघ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सहयोग कटौती गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको जवाफ दिनुभएको छ ।

उहाँले दक्षिण अफ्रिकाले अमेरिकी मुलका केही मानिसलाई नराम्रो व्यवहार गरेर मानव अधिकार उल्लङ्घन गरिरहेको भन्ने ट्रम्पको आरोपलाई अस्वीकार गर्नुभएको छ ।

दक्षिण अफ्रिकामा गोरा किसानको सामूहिक हत्या र जग्गा कब्जा भइरहेको ट्रम्पको दाबीलाई राष्ट्रपति सिरिलले खण्डन गर्नुभएको बीबीसीले जनाएको छ ।

सिरिलले सामाजिक सञ्जाल एक्समा दक्षिण अफ्रिका लोकतन्त्रिक देश रहेको र कानूनको शासन, न्याय र समानता रहेको भन्दै भूमि सुधार नीति र द्विपक्षीय हितका मुद्दाहरूमा ट्रम्प प्रशासनसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले अमेरिका एक प्रमुख रणनीतिक राजनीतिक र व्यापार साझेदार भएको बेला मुख्य रुपमा एचआईभी/एड्स राहत कार्यक्रमबाहेक दक्षिण अफ्रिकालाई महत्त्वपूर्ण रकम सहायता उपलब्ध नगराएको दाबी गर्नुभएको खबरमा उल्लेख छ ।

यसअघि हिजो अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूको कथित सामूहिक हत्या र जग्गा कब्जाको पूर्ण अनुसन्धान नभएसम्म अमेरिकी कोषबाट हुँदै आएका र भविष्यमा हुने सबै सहायता कटौती गर्ने चेतानवी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्