Logo

अरिङ्गालले चिलेर राईको मृत्यु



सांकेतिक तस्बिर

उदयपुर, ३० असोज । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका-५ जाँतेका एक युवकको कालो अरिङ्गालको सिकार गर्न लाग्दा चिलेर मृत्यु भएको छ ।

साथीसँग नजिकैको जङ्गलको रुखमा चढेर अरिङ्गालको गोला टिप्ने प्रयास गरेपछि दर्जनौँ अरिङ्गालले चिलेकाले जाँते चौलानेका ३४ वर्षीय दिवस राईको मृत्यु भएको स्थानीयवासी दीपेन्द्रकुमार राईले बताए । अरिङ्गालले चिलेर अन्य चार जना युवा घाइते भएको पनि उनले जानकारी दिए ।

बिहीबार गाउँ नजिकैको जङ्गलमा कालो अरिङ्गालको सिकार गर्न दिवशसहित अन्य युवा रातको समयमा गएका र रुखमा चढेर अरिङ्गाल टिप्ने प्रयास गर्दा दर्जनौँ अरिङ्गालले दिवशसहितका अन्य रुखमा चढेका युवालाई टोकेर बेहोस बनाएको अर्का स्थानीयवासी धनबहादुर राईले बताए ।

अरिङ्गालको टोकाइबाट बेहोस भएका दिवशको शनिबार मृत्यु भएको छ भने अन्य चार जनाको पनि स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि अहिले घरमा घरेलु उपचार भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्