भारत, १२ भदौ । चीनले आफ्नो प्रशासनिक नक्साको नयाँ संस्करण जारी गरेको छ ।
चीनले अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा देखाउँदै नयाँ नक्सा जारी गरेको हो ।
चिनियाँ अखबार ग्लोबल टाइम्सले ट्वीट गर्दै चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सिमाना कोर्ने विधिको आधारमा नक्सा तयार गरिएको जनाएको छ । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा मान्छ ।
चीनले नक्सा सार्वजनिक गरेलगत्तै भारतले असहमति जनाउँदै विरोध गरेको छ । भारतले अरुणाचल प्रदेश सधैँ भारतको अभिन्न अङ्ग रहेको र सधैँ रहने बताएको छ ।
भारतीय जनता पार्टीका नेता बीजेपी नेता सुब्रमण्यम स्वामीले चीनको यो नयाँ नक्सालाई लिएर कडा प्रतिक्रिया दिएका छन् । उनले चीनको कदम रोक्न नसकेको र जवाफ नदिएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध पनि गरेका छन् ।
यसअघि गएको अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गर्न अनुमोदन गरेको थियो । चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर भूभाग दाबी गर्दै आएको छ भने भारतले पश्चिममा रहेको अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर भूभाग चीनले अवैध रूपमा कब्जा गरेको भन्दै आफ्नो दाबी गरेको छ ।







