Logo

अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई जना घाइते



सङ्खुवासभा, २० वैशाख । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट-२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।

मकालु गाउँपालिका-५ आमाराङस्थित अडिट-२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका-५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गए राति मकालु-५ आमाराङमा सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका राईको उपचारका क्रममा आज बिहान सङ्खुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

सुरुङभित्र काम गर्ने क्रममा अन्य दुई मजदुरसमेत घाइते भएका छन् । घाइते हुनेमा भारतको गुवाहाटीका २३ वर्षीय सममती वलिता र २३ वर्षीया साइमुदिन अली रहेका छन् ।

घाइते वलिताको दाहिने खुट्टा र घुँडामा चोट लागेको छ भने अलीको खुट्टा र हातमा चोट लागेको छ । दुवै जनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ । अरुण तेस्रो आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्