काठमाडौं, २८ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशमा पार्टी नीतिविपरीत गतिविधि गर्ने आफ्ना सांसदप्रति कडा असन्तुष्टि जनाएका छन्।
उनले कुनै पनि सांसद व्यक्तिगत नभई पार्टीको प्रतिनिधि भएको भन्दै पार्टीको नाममा चुनाव जितेर आफूखुसी निर्णय गर्ने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिए।
लिङ्देनले पार्टीको निर्णयविपरीत अन्य दलसँग सहकार्य गर्ने वा जाने प्रवृत्तिले पार्टीभित्र विकृति निम्त्याउने भन्दै त्यसको अन्त्य आवश्यक रहेको बताए। विगतका गल्ती र कमजोरी दोहोरिरहे जनताले पार्टीमाथि विश्वास गर्न नसक्ने उनको भनाइ थियो।
उनले भने, ‘पार्टीको नामबाट चुनाव जित्ने, पार्टीकै मतबाट प्रदेशसभामा पुग्ने अनि आफूखुसी निर्णय गरेर पार्टीविपरीत अर्को दलको ओछ्यान तताउन जाने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन।’
लिङ्देनले नेपाली राजनीतिमा नेकपा एमालेले सांसद खरिदबिक्रीको प्रवृत्ति सुरु गरेको आरोप लगाउँदै ठूलो राजनीतिक परिवर्तनपछि पनि एमाले नसुध्रिएको टिप्पणी गरे।
‘यत्रो ठूलो परिवर्तन र विद्रोहपछि पनि, यत्रो चाउरिसकेपछि पनि एमाले सुध्रिएको रहेनछ, फेरि त्यही काम गर्यो,’ उनले भने।
आफ्नै पार्टीभित्रका व्यक्तिहरू पनि पद तथा स्वार्थका लागि ‘खसीबाख्राजस्तै बिक्री हुन तयार’ भएको टिप्पणी गर्दै लिङ्देनले पार्टीले आफ्नै संगठन र नेतृत्वलाई बलियो बनाउनुपर्नेमा जोड दिए।






