Logo

अर्जुनधारामा बोराभित्र पुरुषको शव फेला



झापा, १३ असार । झापाको अर्जुनधारा-४ मा बोराभित्र शव भेटिएको छ । बोराभित्र पुरुषको शव फेला परेको हो ।

बोराको मुख सिलाएको अवस्थामा शव भेटिएपछि हत्या आशंका गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी रुगम कुँवरले जानकारी दिए । उनको पहिचान हुन सकेको छैन । मृत भेटिएका व्यक्तिको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । उक्त शव कल्भर्टभित्र भेटिएको थियो ।

शव केही दिनअघिको जस्तो देखिएको उनले बताए । स्थानीयले खबर गरेपछि आइतबार साँझ पुग्दा शव भेट्यौँ, उनले भने, बोराभित्र बोराको मुख बाँधेर शव कल्भर्टमा फालिएकाले हत्या आशंका गर्न सकिन्छ । उनको दुवै कुममा ‘आरएन’ लेखिएको ट्याटु देखिएको डिएसपी कुँवरले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्