झापा, ७ कात्तिक । पूर्वको पशुपतिनाथले परिचित झापा अर्जुनधारा जलेश्वर धाममा आगामी मंसीर ८ गतेदेखि अष्टोत्तरशत्(१०८) श्रीमद् भागवत महापुराण हुने भएको छ ।
संस्थाको ४२औं वार्षिक अनुष्ठान अन्र्तगत सञ्चालन हुने उक्त महापुराण विश्व शान्ति एवम् पितृ उद्धारको उद्देश्यले आयोजना गरिएको धाम व्यवस्थापन समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
अनुष्ठानको क्रममा अष्टोत्तरशत्(१०८) व्यास कुटीमा १०८ जना आचार्यबाट श्रीमद् भागवत महापुराण पाठपारायण, पाँच जना आचार्यसहित ५१ जना बटुकद्वारा दैनिक हवन, महायज्ञ तथा रुद्राभिषेक कार्य सञ्चालन, दैनिक साँझ पितृ मोक्षको लागि पाँच जना ब्राह्मणद्वारा महाआरती९गंगाआरती०, दैनिक बेलुका महात्म्य एवम् भजनकिर्तनलगायतका कार्यक्रमहरु सञ्चालन गरिने समितिका सदस्य एवम् प्रचार प्रसार उपसमितिका संयोजक नीरजकुमार ओलीद्वारा पत्रकार सम्मेलनमा प्रस्तुत प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महापुराणको प्रमुख आचार्य अन्तराष्ट्रिय कथा व्यास १८ पुराणका प्रवक्ता, धर्मदर्शन फाउण्डेसन नेपालका संस्थापक एवम् धामका व्यासाचार्य पण्डित कुवेर सुवेदी र सहआचार्य धामका मूलअर्चक अग्निप्रसाद सिग्देल रहनुभएको छ ।
१५ गते बालाचर्तुदशीका दिन विहान ४ बजेबाट शतविज रोपण, पूर्णाहुति, तिलकपाती वितरण गर्दै सम्पन्न हुने महापुराणका लागि विभिन्न १९ वटा उपसमिति गठन भएका छन् ।
महापुराणको अनुमानित आयतर्फ दुई करोड १६ लाख आठ हजार रुपैयाँ र व्ययतर्फ ९५ लाख ५० हजार रुपैयाँ रहेको कोषाध्यक्ष जोशीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । महापुराणबाट बचत भएको रकमलाई धामले विविध उद्देश्यका लागि स्थापना गरेको अक्षयकोषमा जम्मा गरिने समितिका अध्यक्ष नबिन गट्टानीले बताउनुभयो । दुई करोड रुपैयाँ रकम पु¥याउने लक्ष्य राखिएको उक्त अक्षयकोषमा हालसम्म ५० लाख रुपैयाँ जम्मा भएको कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुुभयो ।
यस वर्ष आयोजना हुने अनुष्ठानमा धाम व्यवस्थापन समितिले १०८ जना आचार्यबाट श्रीमद् भागवत पाठपारायणसँगै १०८ जना यजमानबाट पनि पूजाअर्चनाको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यजमान बन्न इच्छुक महानुभावले भागवत भेटी बापत ५१ हजार रुपैयाँ रकम बुझाएपछि निजहरुको पितृ, पितामह, प्रपितामह, माता, पितापही, प्रपितामहीसमेतको संकल्पसहित नामोच्चरण गरिने बताइएको छ ।






