Logo

अर्जुन ट्रफी क्रिकेटमा बुटवलको विजयी शुरुआत



काठमाण्डाै, २२ माघ ।  अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी शुरुआत गरेको छ । बुटवलले दशरथ चन्द एकेडेमी बैतडीलाई ५१ रनले हरायो ।

बुटवलले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको बैतडी १४ ओभर ५ बलमा १ सय ६ रनमा अलआउट भयो । बैतडीका वसन्त खत्रीले सबैभन्दा धेरै २० रन बनाए । बुटवलका तुलबहादुर थापाले ३ विकेट लिए ।

यसअघि धनगढीमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनायो । बुटवलका दीपक डुम्रेले ४५, आरिफ खानले ४१ रन बनाए । बैतडीका भुवन कार्कीले २ विकेट लिए ।

यो जीतसँगै बुटवल २ अङ्कसहित समूह ‘बी’ को दोस्रो स्थानमा छ । लगातार २ खेल हारेको बैतडी तेस्रो स्थानमा छ । प्रतियोगितामा अहिले समूह ‘ए’ का बोस्टन क्रिकेट झापा र डीसीए धनगढी खेलिरहेका छन् ।

प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्