Logo

अर्जेन्टिना विश्वकप फुटबलको छनोट नजिक



काठमाडौं, ६ मंसिर । लाउटारो मार्टिनेजले गरेको एकमात्र गोलबाट अर्जेन्टिनाले बुधबार पेरुलाई १–० ले हराएको छ । यससँगै डिफेन्डिङ च्याम्पियन विश्वकप फुटबलको छनोट नजिक पुगेको छ । अर्जेन्टिनाका लागि मार्टिनेजको ३२ औं गोल हो ।

यसका लागि कप्तान लियोनल मेसीले अवसर बनाइदिएका थिए । मार्टिनेजले यससँगै गोलमा डिएगो म्याराडोनाको बराबरी गरेका छन् । सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै छ ।

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको प्रमुख प्रतिद्वन्द्वी ब्राजिलले भने उरुग्वेसँग साल्भाडोरमा भएको खेल १–१ को बराबरी टुंग्याएको छ । खेलपछि ब्राजिली समर्थकले आफ्नै देशका खेलाडीप्रति इंगित गर्दै तिखो प्रतिक्रिया दिएका छन् । अर्जेन्टिना १२ खेलबाट २५ अंकसहित छनोटको शीर्ष स्थानमा छ । यो दोस्रोमा रहेको उरुग्वेमाथि ५ अंकको अग्रता हो । त्यसपछि इक्वेडर कोलम्बिया समान १९ अंकमा छन् । ब्राजिल १८ अंकमा पाँचौं स्थानमा छ ।

पेरु १७ अंकसहित छैटौं स्थानमा छ । इक्वडेरको जित भने सबैभन्दा उल्लेखनीय रह्यो । टोलीले कोलम्बियालाई १–० ले पराजित गरेको हो । त्यसमा इनर भ्यालेन्सियाले सातौं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो । इक्वेडरले ३४ औं मिनेटमै रातो कार्डका कारण डिफेन्डर पिएरो हिनक्यापलाई गुमाएको थियो । यसका बावजुत इक्वेडरले कोलम्बियालाई रोकेको हो । दक्षिण अमेरिकामा ६ टिमले सिधै विश्वकपमा प्रवेश पाउनेछ । सातौं स्थानमा रहने टिमले भने अन्तर महादेशीय प्लेअफ खेल्नेछ ।

जापान पनि छनोट नजिक

जापान पनि लगातार आठौंपल्ट विश्वकप छनोटको संघारमा पुगेको छ । टोलीले मंगलबार चीनलाई उसकै भूमिमा ३–१ ले हराएर आफ्नो समूहको दोस्रो स्थानमा रहेको अस्ट्रेलियामाथि ९ अंकको अग्रता बनाएको छ । अस्ट्रेलियाले भने बहराइनसँग २–२ को बराबरी खेल्यो । जापानको समूह ‘सी’ मा ६ खेलबाट १६ अंक भएको छ । अब ४ खेलमात्रै बाँकी छ । जापानले यसअघि आफ्नो भूमिमा चीनलाई सजिलै ७–० ले हराएको थियो ।

समूहमा इन्डोनेसियाले भने जकार्तामा भएको खेलमा साउदी अरेबियामाथि २–० को जित निकालेको छ । त्यसमा दुवै गोल इंग्ल्यान्डको दोस्रो डिभिजन क्लब अक्सफोर्ड युनाइटेडबाट खेल्ने मार्सेलिनो फेडिनानले गरे । दक्षिण पूर्वी इन्डोनेसियाले सन् १९३८ को विश्वकप खेलेको थियो । त्यतिबेला टोलीको नाम डच इस्ट इन्डिया थियो । इन्डोनेसियाले एसियाली विश्वकप छनोटको तेस्रो चरणमा जित निकालेको यो नै पहिलो पटक हो ।

समूह ‘बी’ मा दक्षिण कोरिया शीर्षस्थानमा छ । टोलीलाई प्यालेस्टाइनले १–१ को बराबरीमा रोकेको थियो । दक्षिण कोरियाको १४ अंक छ । टोलीको लगातार ११ औं पल्ट विश्वकप खेल्ने सम्भावना बलियो भएको छ । इराक दोस्रो स्थानमा छ । टोलीले ओमानलाई १–० ले हरायो । समूह ‘ए’ मा भने इरान शीर्षमा छ । टोलीले किर्गिस्तानविरुद्धको

खेलमा ३–२ को जित निकाल्यो । दोस्रोमा रहेको उज्वेकिस्तानले भने उत्तर कोरियालाई १–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्