Logo

अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ: डा.महत



ललितपुर, २८ मङ्सिर । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताएका हुन् ।

“अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको छ, पर्यटकको वृद्धि हुँदै गएको छ, ब्याजदर घट्दै छ, रेमिट्यान्स पनि बढ्दैछ, हामीले छलफल गरेर मौद्रिक नीतिमा पनि केही लचिलो बनाउन प्रयत्न गरेका छौं, विस्तारै उद्योग व्यवसाय पनि सबल बन्दै जानेछ, श्रमिककको माग पनि वृद्धि हुँदै जाने छ, श्रमिकहरु विस्थापित हुने अवस्था अन्त्य हुनेछ”, अर्थमन्त्री महतले भने, “नेपालको अर्थतन्त्र समस्यामा थियो, अहिले हामी हटाउन लागेका छौं ।”

उनले बेरोजगारहरुलाई पनि रोजगारको अवसर सिजना गर्न ट्रेड युनियनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले श्रमिक र उद्योग व्यवसायीबीच निरन्तर वार्ता तथा सम्वादमार्फत एकअर्कालाई बुझ्नुपर्ने र सम्बन्धलाई सुमधुर बनाउनु पर्ने धारणा राखेका थिए । उनले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाखमा लगानी सम्मेलन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्