काठमाडौँ, ६ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्रको संवाहक निजी क्षेत्र भएकाले सरकार सहकार्य गर्न तयार रहेको बताएका छन् ।
नेपाल प्लाईउड उत्पादन सङ्घको २३औँ साधारणसभामा आज धुलिखेलमा उनले निजी क्षेत्रलाई सरकारले अर्थतन्त्रको चलायमान इन्जिनका रूपमा लिँदै उत्पादन र निर्यातमा सहयोग गर्ने बताएका हुन् ।
“अर्थतन्त्रको चलायमान इन्जिननै निजी क्षेत्र हो, आयातित अर्थतन्त्रमा मुलुकको भविष्य छैन, त्यसैले उत्पादन र निर्यातमा सरकार उद्योगीलाई सघाउन तयार छ”, मन्त्री बडूले भने । उनले निर्यातले वैदेशिक मुद्रा सञ्चिति बढाउने भएकाले नेपालमा निर्यात गर्न सकिने वस्तुको उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
सरकार विभिन्न साना-ठूला उद्योगीसँग छलफल गरेर अघि बढ्न तयार रहेको उनको भनाइ थियो । उनलेले भने, “छलफलपछि सरकारले उद्योग सञ्चालनमा सुधारको घोषणा गरेको छ, राष्ट्रिय उत्पादनलाई प्राथमिकतामा राख्दै नेपाली उत्पादन उपभोग अभिवृद्धि कार्यक्रम महत्वका साथ निर्धारण गरिसकेको छ ।” निजी क्षेत्रसँग सहकार्य गर्ने वर्तमान सरकारको घोषित नीतिअनुसार १० वर्षे अभियान सञ्चालन गर्नुपर्ने उनको धारणा थियो ।







