काठमाडौँ, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न ‘बोल्ड डिसिजन’ को आवश्यकता रहेको बताएका छन् ।
बिहीवार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले नीति, प्रक्रिया र विधि, बजेट निर्माणको प्रक्रियामा गम्भीर आत्मसमीक्षा गर्दै नीतिमा ‘बोल्ड डिसिजन’ आवश्यक रहेको बताएका छन् ।
उनले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमा सरकारले अपनाउँदै आएका नीतिका सन्दर्भमा मुख्य प्रक्रिया अवलम्बन गर्नुपर्ने बताए ।
उनले टालटुले तरिकाबाट अहिले अर्थतन्त्रमा देखिएका समस्याको समाधान दिगो रुपमा गर्न सम्भव नरहेको बताए । उनले अझै पनि अर्थतन्त्रको मुख्य समस्या समाधान हुन नसकेको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सुधारका कोसिस गरे पनि अर्थतन्त्र कतै न कतै समस्याग्रस्त रहेको बताए । उनले केही कुरामा गम्भीर रुपले समीक्षा नगर्ने र ‘बोल्ड डिसिजन’ लिनेतिर अघि नबढ्ने हो भने झनै अफ्ठ्यारोमा जानसक्ने खतरा रहेको बताएका हुन् ।