Logo

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौँ: अर्थमन्त्री



काठमाडौँ, २६ चैत । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार केन्द्रित हुने बताएका छन् ।

आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) सँग आज अर्थमन्त्रालयमा भएको भेटमा उनले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सरकार लागिरहेको बताएका हुन् ।

“अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी सरकार लागिरहेको छ, मेरो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रीत रहेको छ”, उनले भने । उनले अर्थतन्त्रमा लगानी, बैंकको ब्याजदर, पूँजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको उल्लेख गरे । मुलुकको अर्थतन्त्रमा बाह्य र आन्तरिक समस्याले गर्दा राजस्व सङ्कलन कम भएको उनको भनाइ छ ।

अर्थमन्त्री डा महतले मुलुकको राजस्व सङ्कलन भन्सारमा निर्भर भएको भन्दै यो वर्ष आयात प्रतिबन्ध लगायतको कारण लक्ष्य पूरा हुन नसकेको बताए ।

उनले साधारण खर्चमा समस्या देखिए पनि विदेशी मुद्रा सञ्चितिकोलगायत अन्य अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेकाले निराशा भइहाल्ने अवस्था नरहेको बताएका छन् ।

अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा सरकारको वित्त नीति र मौद्रिक नीति निश्चित लक्ष्यका साथ सकारात्मक दिशामा उन्मुख गराउने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्