वीरगञ्ज, १९ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले विगतमा पुँजीगत खर्च कम हुँदा आर्थिक वृद्धिदर कम भएको बताएका हुन् ।
विगतमा अर्थतन्त्रमा देखिएको समस्या बिस्तारै समाधान हुँदै गएको भन्दै उनले छिल्लो समय विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको उल्लेख गरेका थिए । उनले उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा देखिएको समस्या समाधानमा सरकार लागेको उनको भनाइ छ ।
उनले राजस्व सङ्कलन गर्ने निकायका कर्मचारीले गर्ने दुरुपयोग, त्रुटि, उदासिनता र निष्क्रियता मान्य नहुने भन्दै पारदर्शिता, राजस्व वृद्धिमा ध्यान निर्देशन दिइसकेको जानकारी दिए ।
मन्त्री महतले वर्तमान सरकारको मुख्य लक्ष्यलाई सुशासन, सेवा प्रवाहमा प्रभाविकारिताको प्रत्याभूति र विकास निर्माणलाई गति दिनुरहेको बताए ।