काठमाडौँ, ४ असोेज । प्रधानमन्त्री शेरबहादुर देउवाले डेङ्गुको रोकथाम र नियन्त्रणका लागि सरकारले निरन्तर पहल गरिरहेको बताएका छन् ।
आज ‘दोस्रो नेपाल चिकित्सक राष्ट्रिय स्वास्थ्य सम्मेलन’को उद्घाटन गर्दै उनले कोभिड-१९ को महामारी नसकिँदै डेङ्गुको सङ्क्रमण बढेकाले रोकथाम र नियन्त्रण गर्नुका साथै उपचारको व्यवस्था गरिएको बताए ।
स्वास्थ्य पूर्वाधार विस्तार गरेर महामारी नियन्त्रण गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकार क्रियाशील रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।
कोभिड-१९ महामारीजस्तै डेङ्गु नियन्त्रण गर्नका लागि चिकित्सक सङ्घको सहयोग आवश्यक रहेको उनको भनाइ रहेको थियो । “सबैको सहयोगबाट कोभिड-१९ जस्तै डेङ्गुको सङ्क्रमण पनि सामान्य अवस्थामा ल्याउन विश्वास लिएको छु”, उनले भने । उनले कोरोना भाइरस र डेङ्गुको उपचारका लागि सरकारले सबै व्यवस्था गरेको जानकारी दिए ।